बुटवल- नेपाली भूमि ‘सुस्ता बचाउ अभियान’ का संयोजक गोपाल गुरुङको निधन भएको छ। भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका गुरुङको मंगलबार बेलुका निधन भएको हो।
६२ वर्षीय गुरुङको उपचारका क्रममा भैरहवास्थित मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मष्तिष्कघात भएपछि पुस ८ गतेदेखि गुरुङको मेडिकल कलेजमा उपचार भइरहेको थियो।
अवस्था नाजुक भएपछि केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा बेलुका निधन भएको हो। गुरुङको उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलनका लागि अभियान सुरु गरिएको थियो।