बारा- सरकारी अनुदानको रासायनिक मलको अभाव भएपछि बारामा चोरी निकासी भई आएको भारतीय युरिया मल बजारमा छ्यापछ्याप्ती भएको छ। सरकारले प्रयाप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा बाली लगाउने बेलामा भारतीय गुणस्तरहिन अवैध मल किन्न किसान बाध्य बनेका छन्।
सीमामा खटिएका नेपाल प्रहरी तथा शसस्त्र प्रहरीलाई मोटो रकम बुझाउँदै भित्रिने भारतीय मल सदरमुकाम कलैयामा छ्यापछ्याप्ती भएको हो। महँगो र गुणस्तरहिन भएपनि नेपाली मलको अभावमा भारतीय मल किन्नु परेको किसानहरु बताउँछन्।
नेपाली युरिया मल आठ सयदेखि नौ सयसम्म पर्छ। तर पाइँदैन। स्थानीय सहकारी संस्थाले मल ल्याउन नपाएको धेरै दिन भएको छ। मकै बालीलाई मल अत्यावश्यक भइसेकाले बाध्यताले भारतीय मल किन्नु परेको बारा कलैया उपमहानगरपालिका १६ उत्तरझिट्कैंयाका किसान राजु पटेलले बताए।
भारतबाट चोरबाटो हुँदै धामाधम मल आएकै छ। सिमामा प्रहरीलाई नमिलाई ल्याउन गाह्रो छ। प्रहरीसँगको मिलेमतोमा मल तस्करहरुले दैनिक पचासौं मोटरसाइकलमा ५ बोरासम्म लोड गरेर मल आउने गरेको कलैयाका एकजना व्यापारीले बताए।
यसरी भित्रिएका रासायनिक मल यूरिया एक हजार तीन सय देखी एक हजार ३५० रुपैयाँसम्म विक्री भइरहेको छ। खुद्रा व्यापारीले भारतबाट मल ल्याउने मत तस्करहरूसँग एक हजार दुई सयसम्म किन्ने गरेको उनले बताए।
'सरकारले प्रयाप्त दिन सक्दैन। किसानको जीवन त चोरी पैठारीबाट आउने मलले नै चलाएको छ। सिजनका सरकारको भरपर्ने अवस्था छैन। सरकारी अनुदानको मल अभावमा मंहगो मुल्यमा भारतीय मल किन्न बाध्य छौं,' अर्का किसान सीमा यादवले बताइन्।