शनिबार, माघ २१, २०७९
निबन्ध

देउवाको आत्मझ्वाँक

देवव्रत  |  काठमाडौं, बुधबार, पुष २०, २०७९

देवव्रत

देवव्रत

बुधबार, पुष २०, २०७९, काठमाडौं

नेपाल समय

बिहानीपख भालेले चार–छ डाक लगाइसकेको थियो, त्यसपछि बल्ल कसोकसो झुमेका मात्रै के थिए– कसैले झक्झकाएर ब्युँझायो देउवालाई। 

आसनमुनिबाट कुर्सी टिपेर भागेका प्रचण्डलाई सराप्दै साँझ बितेको थियो उनको। यताउती नजर डुलाएर हुक्केलाई खोजे। नाम त खै के कुन्नि थियो उसको, हुक्का बोकेर देउवाको चाकडीमा पछिपछि लतारिरहन्थ्यो। त्यसैले सबैले उसलाई हुक्के भन्थे। सरकार फेरिएसँगै उसले कुलेलम ठोकिसकेछ। एक हातमा हुक्का र अर्को हातमा लि ओरेन्ज क्वायल बोकेर पेरिसडाँडातर्फ कुद्यो रे ऊ। सुक्केचाहिँ त्यतै छ। देउवाको नाम बेचेर सुक्का बटुल्ने भएकाले ऊ बालुवाटारमा सुक्के भनेर परिचित थियो। डायरी बोकेर पछिपछि कुदिरहेथ्यो, देउवाले फुलिसकेको बालसमेत दिन जरुरी ठानेनन् उसलाई, लमकलमक अघि लागे। नाकमा जमेको पच्चीस ग्राम सिँगान सुर्लुक्क निलेर मध्य छातीसम्म पुर्याए, एक मुठ्ठी खकार निकालेर पिच्च थुके– दैलोमा उभिएको थुक्केले हतारहतार हात थापेर खकार डस्टिबनमा फाल्यो। चिल्ला हात टाउकोमा पुछ्दै कपाल मिलायो। यहाँ छिर्दा नाम त उसको पनि अलग्गै थियो, अब तपाईंलाई थाहा भइसक्यो होला– ऊ थुक्केमा कसरी रुपान्तरण भयो।

कुर्सी गुमेको शोकमा भात पनि नखाई बालुवाटारको माथिल्लो तलाको सुविधासम्पन्न कोठामा मुर्मुरिँदै पुगे देउवा, त्यसमाथि श्रीमती आरजुसँगको ठाकठुकले रुँघाइनो देखिएका थिए उनी। १२ बजेसम्म बार्दलीमा बसेर बालुवाटारको सौन्दर्यपान गरे उनले। सिग्रेट छाडेको लामो समय भयो, नत्र आज उनलाई मदिरापानमा लठ्ठिएर बालुवाटारको आकाशमा धुवाँको बादल बनाइदिने झोंक चलेको थियो। तर उनी सम्हालिए, त्यसो गरेनन्। दरबारका ती पर्खाल, ती मेहराबहरु भत्काइदिने भूत सवार नभएको पनि होइन उनमा। फेरि आशामिश्रित नजर फ्याँके चारैतिर, उमेरको ख्याल पनि राखे आफ्नो र सम्हालिए। 

त्यो निवास अहिल्यै छाड्नुपर्ला भन्ने कल्पनासमेत नगरेका उनले बूढानीलकण्ठको घर डेन्टिङ–पेन्टिङसम्म गर्न भ्याएका थिएनन्। बिहानसम्मको राजनीतिक माहोल हेर्दा तत्कालै घर मर्मत गरिहाल्नुपर्ने जरुरी पनि थिएन। खैर! यस्तै भयो। एक–दुई दिनमै कुम्लोकुटुरो बोकेर भाडाको घर सर्नुपर्ने लेठो सम्झेर एक्लै बर्बराए। रात छिप्पिँदै थियो, प्रचण्डलाई सराप्दा अब तिनै पुरानै शब्द फजुल खर्च भइरहेथे, उनमा भएको शब्द भण्डार रित्तिसकेको थियो। सोफामा ढल्किए, बार्दलीमा उभिएर अँध्यारोमा पनि झलमल्ल बलिरहेको गुलिस्ताँ हेरे। कोठाका चोटा र खापा हेरेर थुक निल्दै ओछ्यानमा पल्टिए। ३६० डिग्रीसम्म कोल्टे फेरे पनि अहँ, निद्रादेवीको आगमन भएन। त्यसपछि खोपाका तीन चक्की ‘स्लिपिङ ट्याब्लेट’ निलेर यसो के ढल्किएका थिए, कसैले झक्झकाएर ब्युँझाइहाल्यो।

आँखा मिच्दै टेबलमा छामछाम–छुमछुम पार्दै चश्मा कानमा झुण्डाए, ८० को तुषारो पोखिएको शिर कन्याउँदै सोधे– को हँ?

‘म तिम्रो आत्मा’

चश्मा पुछेर हेर्दा देउवाले आफ्नोअघि दुरुस्त आफैंलाई देखे। दुब्लो पातलो मरन्च्याँसे। छनत ऊ उनीजस्तै छ, तर टुक्रिएर मक्किएर अहिल्यै विलय होला जस्तो। कुनै गरिबको घरमा हुर्किएको बच्चो जस्तो। तर आफूभन्दा केही चुस्त र फुर्तिलो। 

बाल दिन जरुरी ठानेनन् उनले त्यो चिजलाई, कोल्टो परेर सुत्न खोजे। त्यो चिज सिरानमै आयो र फेरि झक्झकाउन थाल्यो। 

‘ह्या! उत्जाउ, सुत्न देऊ, रेला नगर,’ आदेशात्मक आवाजमा भने। 

‘म तिम्रो आत्मा हुँ, मलाई तिमीसँग केही वार्ता गर्नु छ,’ ऊ बोल्यो। निधारका तेह्र धर्का नशा फुलाउँदै क्रोधित हुँदै उनले त्योतर्फ हेरे। ‘भन भन के भन्न चाहन्छौ,’ झर्को मान्दै उनले भने।

‘अन्ततः फेरि एकपटक तिमीमा प्रचण्ड दशा सवार भयो नै,’ आत्मा बोल्यो।

‘ज्योतिषले राहु र केतु भनेथ्यो,’ ज्योतिषशास्त्रमा विश्वास राख्ने देउवाले हठात् प्रतिकार गरे।

‘तिमी सोझो छौ, तिमीलाई याद छ हरेकपटक तिम्रो बाधक प्रचण्ड नै बनेको?’ आत्माले सम्झाउन खोज्यो।

‘हो, मान्छे त धोकेबाजै हो। तर साथ पनि त पाएको छु, दुईपटक प्रधानमन्त्री बनेकै हो उसको सहयोगमा,’ प्रचण्ड तुषसहित आफ्नो बचाउ गरे देउवाले।

‘तिमीले प्रचण्डलाई सामान्य अर्थमा लिइदिँदा यो अवस्था आएको हो, बाबुरामले बुझाएको ४० बुँदे माग रद्दीमा मिल्काएर तिमी त्यसबेला दिल्ली डिनरमा हानियौ। प्रचण्डलाई बलियो बनाउने यो तिम्रो पहिलो कदम थियो। त्यतिबेला पनि मैले तिमीलाई...’ विगत सम्झायो आत्माले। 

बीचमै प्रतिकार गर्दै देउवाले भने, ‘त्यो गरिबीका कारण कास्कीबाट चितवन झरेको केटो, जसका बाबु चितवनमा पनि चर्को अभावका कारण बिरक्तिएर बर्दिया पुगे। आमाले बाख्रा बेचेर पढाइ खर्च पठाएर मार्क्सवाद पढ्यो, माओवाद पढ्यो। पढ्यो, ठीकै छ, हाम्रो राजनीतिक धरातल नै यसरी हल्लाउला भन्ने के थाहा भयो त यार।’

‘तर जनयुद्ध सुरु हुँदा तिमी नै प्रधानमन्त्री थियौ, प्रोक्सी वार चलिसकेको ज्ञान त तिमीलाई पनि थियो नै। त्यसरी माओवादीलाई शक्ति सञ्चय गर्न नदिएको भए आज तिम्रो स्थान अन्तै हुन्थ्यो, भलै गणतन्त्र आउँथेन, त्यसले तिमीलाई के फरक पर्थ्यो?’

‘त्यही पनि नाथे थ्री नट थ्रीकोे एक राइफलले के नाप्ला त सोचियो नि,’ देउवा झोंक्किए। 

‘तर इतिहासले जवाफ खोज्ने छ,’ आत्मा पनि केही क्रोधित बन्यो। 

‘सबै सवालको जवाफ दिनुपर्छ भन्ने के छ हँ? इतिहासले खोजेकै सवालको जवाफ दिनुपर्छ भन्ने छ?’ कड्किए उनी।

‘तिमी पदमुक्त हुनुको कारण पनि त्यही जनयुद्ध थियो।’

‘फेरि प्रधानमन्त्री भएकै त हो।’

‘फेरि पनि तिमीले माओवादीलाई बलियो बनायौ। वार्ता टोली बनाएर माओवादीले महरालाई पठाएकै थियो। तिमी सुल्झाउन होइन, उल्झाउन लाग्यौ। टाउकाको मूल्य तोक्यौ, संकटकाल लगायौ। तिम्रै लहडमा टाउको झोलामा ल्याउ भन्दा तिम्रा गृहमन्त्री कँडेलले ६ गोली खाए। कैलालीमा झण्डै तिम्ले पनि सिल्टिमुर खा’को होइन?’

‘अब त्यतिबेला मै सत्तामा थिएन त मैले के गर्नु यार?’

‘तिम्रै असक्षमताले त राजाले लात हानेका त हुन्।’

‘पछि न्याय पनि त पाएँ।’

‘त्यही गोरखाली राजाबाट न्याय पाएँ भनेर फुइँ लाएर एक खुट्टो टेकेर हिँड्दा बिचल्ली भएको चाहिँ बिर्सियौ।’

‘परिवर्तनको नाइके भनेर प्रचण्डले जति फुइँ लाए पनि त्यतिबेला कू नभएको भए, म प्रधानमन्त्री बन्न नगइदिएको भए, मौसूफले फेरि लात नहानेको भए यो परिवर्तन कहाँ सम्भव थियो? अलिकति मार्क्सवाद र माओवादको भाग त हाम्लाई नि लाग्छ यार।’

‘त्यसपछि तिम्रो के हविगत भयो भन्ने पनि त नबिर्स।’

‘त्यसपछि ऊ मेरोमा डिनरका लागि आइराख्थ्यो। मेरो शीर पनि त राखेकै थियो क्या।’

‘नाप्यौ...’

आत्माको हेपाइ चित्त बुझेन उनलाई। ‘ह्या नकराउ, जाउ सुत,’ आत्मालाई बेवास्ता गर्दै देउवा सुत्न खोजे। पुसको ठण्डीमा पनि कोठाको माहोल गर्माइलो थियो। उनले कपडा फुकाले, गञ्जीसम्म फुकालेर उनले बालुवाटारको त्यो न्यानो अन्तिम रात पान गर्न चाहे। अल्झिएको जनै सुल्झाएर तेर्सो ढल्किए। आत्मा उनको सामुन्ने आई ठीक उनी पल्टिएजसरी पल्टियो। उसले पनि लुगा फुकाल्यो। सक्कलबमोजिम नक्कल गर्यो आत्माले। 

देउवाले देखे आत्माको छातीमा सेतै फुुलेको काँस जस्तो एक धर्को रौँ छ। उनलाई लाग्यो– त्यो रौँले उनको बुढ्यौलीको खिसी गर्दैछ। आफू त्यति बूढो पनि नभइसकेको अनुभूत गरे उनले र झटपट त्यो रौँ उखेलिदिए। आत्माको छातीको रौँ उखेल्दा उनी आफैंलाई नमिठो पीडा भयो। आङ सिरिङ्गै भयो, धेरैपछि त्यत्तिको पीडा महसुस गरे उनले। अनि हत्तपत्त उठेर माघमा श्रीस्वस्थानी पढ्न बसेको बालकजस्तो कक्रक्क परेर खाटमा बसे।

‘प्रचण्ड राष्ट्रिय राजनीतिमा झन् बलियो भयो, त्यसपछि तिम्रा दशा सुरु भए,’ आमनेसामने हुँदै आत्माले पुनः चिढ्याउन खोज्यो देउवालाई।

केही सम्हालिँदै देउवाले भने, ‘अनि त्यसपछि त्यत्रो रातो कार्पेटमा गिरिजाबाबुले मलाई हिँडाएका होइनन् त? त्यसपछि सभापति खाएँ, प्रधानमन्त्री खाएँ।’

‘रेनुलाई मेयर बनाएको बक्सिस खाएँ भन न।’

‘आखिरमा मेरै चरणमा जो आइपुगे,’ गर्वले छाती फुलाउँदै देउवा गर्जिए।

‘अनि तिमी आफैंले गराएको चुनावमा कांग्रेसको के हबिगत भयो चाहिँ नभुल न,’ आत्मा एक सर्को बतासिएर रंगिन झ्यालमा गएर बस्दै भन्यो।

‘ओलीले लोप्पा खाएर फेरि मेरै शरणमा नआएका हुन् त प्रचण्ड अनि?’ आफ्नो पावर के हो भन्ने जनाउ दिए देउवालाई। 

‘आफ्नै आत्मालाई त नढाँट यार, त्यो के थियो भन्ने त प्रचण्डले पिठ्युँ फर्काएर देखाएनन्?’

‘अब ठीकै छ त, यस्तै भयो यार। खैर! प्रचण्डको अन्त जाने ठाउँ कहाँ छ हामी पनि हेरौँला।’

‘भनेपछि फेरि आत्मा बेच्न परे पनि बेच्न तयार तिमी?’

‘राजनीतिमा जे पनि सम्भव हुन्छ, किनबेच चलिरहन्छ,’ देउवाले राजनीति पढाए आत्मालाई।

‘हुन त म पनि कति न बाँकी छु अब? मै पनि बेचिएर, टुक्रिएर यत्रै त भइसकेको छु,’ आत्माले सानो चित्त बनायो। 

ठाँटसाथ देउवाले भने, ‘ओलीले प्रचण्डलाई कुन बार्दलीमा लगेर भुइँमा थचार्छन् हाम्लाई थाहा छैन र? आखिरमा फर्की आउने ठाउँ त्यै मेरो कुटी न हो।’ आफ्नो सिग्नेचर हाँसो हाँस्दै उनले भने।

‘तिमीले जस्तो उनले आत्मा अब मैलो पार्न चाहेनन् भने?’ शंका व्यक्त गर्यो आत्माले। देउवा लामो अट्टहाँस हाँसे। उनको हाँसोले बालुवाटारको चोटाचोटा थर्किए। दिनभर मक्किएको भित्तोजस्तो अनुहार उज्यालो पार्दै उनले भने, ‘खुसी मनाउ, धन्न तिमी यत्रै भए पनि बाँकी छौ। प्रचण्डको आत्माको त अब अस्तित्व पनि छैन। नपत्याए सहिदहरुलाई सोध, योद्धालाई सोध, उनकै सहकर्मीलाई सोध, देशलाई सोध, माओलाई सोध, जसलाई सोध्छौ सोध, ऊ आत्माबेगर बाँचिरहेको ठीक साँचो हो।’ बालुवाटारका कुनाकुना हेरे देउवाले। आत्माको नजिक गए। कपाल सुस्तरी चलाइदिए आत्माको। 

भावुक हुँदै भने, ‘तिमीलाई त थाहै छ, म यहाँ कति एक्लो छु। अलिकति भएपनि तिमी बाँकी छौ मसँग। सोच त, त्यसले के नाप्छ भोलि यहाँ आउँदैमा? त्योसँग के छ? को छ?’ आफूसँग केही हुनुको घमण्डसहित उनले प्रचण्डको रित्तोपना व्याख्या गरे। 

‘अब तिमीसँगको मेरो सहयात्रा पनि कति बाँकी छ र? त्यसपछि तिमी के गर्छौ?’ अन्तिमपटक भेटिरहेकी प्रेमिकालाई अँगालेर भावविह्वल भएको प्रेमीजसरी रसाउँदै आत्माले देउवालाई अंकमाल गर्यो। अन्तिम बिदाइपछि हात हल्लाइरहेकी प्रेमिकालाई परसम्म नियालिरहेको बैरागी प्रेमीजसरी देउवाले आत्माको आँखामा हेरिरहे। बालुवाको मन्दिरजस्तो टुटेर भुइँमा छरिए उनी। आफूलाई बलपूर्वक बटुलेर टेलिफोन घुमाए। 

‘के छ? कता?’

‘मेरो हाल नसोध म सधैंझैं बेहाल छु। मेरो खबर नसोध म सबैदेखि टाढा छु। म त्यहीँ छु, म त्यहीँ छु...’ फोनमा माधव नेपालको मधुरो स्वर सुनियो।

‘त्यतै बस्नुस्, म आएँ,’ देउवाले सान्तवना दिए।

त्यसपछि एकाबिहानै देउवा अगाडिपछाडि सुरक्षाकर्मी लगाएर बालुवाटारबाट निस्किए।


प्रकाशित: January 4, 2023 | 17:35:29 काठमाडौं, बुधबार, पुष २०, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

संविधानविपरीत निर्वाचनको मिति तय गरिएको दाबीसहित अधिवक्ता ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका हुन्।

अस्ट्रेलियाको ब्रिसबेनमा घन्कियो नेपथ्य

नेपथ्यले अस्ट्रेलियाको तेस्रो ठूलो सहर ब्रिसबेनमा योसहित पाँचौं पटक सांगीतिक प्रस्तुति दिएको हो।

बैतडीस्थित देहिमाण्डौंको चडेखानमा पुग्यो टेलिकमको नेटवर्क

बैतडी जिल्लाको दशरथ चन्द नगरपालिका-२ अन्तर्गत चडेखानमा नेपाल टेलिकमको टावर विस्तार गरिएको छ।

प्रचण्ड-ओली बाध्यात्मक प्याचअप : 'सगुन' बँडाइदेखि नै अविश्वास

बाध्यात्मक प्याचअप गरेका प्रचण्ड–ओलीबीच सहकार्य त छ तर सहकार्यको सुरुआती दिनदेखि नै अविश्वासले डेरा जमाएको छ।

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत उपाध्याय, वडा नम्बर ६ का तत्कालीन वडा अध्यक्ष, सब इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध फिल्ड निर्माण गर्ने क्रममा गलत प्रतिवेदन तयार गरेको आरोपमा मुद्दा दायर गरिएको हो।

सत्ता गठबन्धनको बेमेलले राजनीति १० पुसतिर फर्किने संकेत

सात दलीय सहमतिबमोजित नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन अस्वीकार गरेपछि १० पुसमा बुनिएको बालकोटको राजनीतिक गाँठो क्रमशः खुइलिने वा फुक्लिने अवस्थामा पुगेको छ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड–ओलीबीच गठबन्धनको भविष्यबारे छलफल

नागरिकता प्रकरणमा गृहमन्त्रीबाट गलहत्याइएका लामिछानेले पुनः सोही पद पाउनुपर्ने अडान लिएपछि पछिल्लो समय गठबन्धनभित्र मतभेद बढ्दै गएको छ।

अन्ततः रविले नपाउने भए गृह मन्त्रालय

सर्वोच्च अदालतबाट लामिछानेको नागरिकतासम्बन्धी मुद्दा फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्व आफैंसँग राख्ने निर्णयमा प्रधानमन्त्री प्रचण्ड पुगेका हुन्।

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।

थप समाचार

नेपाल समय
ब्लग

देउवाको आत्मझ्वाँक

‘राजनीतिमा जे पनि सम्भव हुन्छ, किनबेच चलिरहन्छ,’ देउवाले राजनीति पढाए आत्मालाई। ‘हुन त म पनि कति न बाँकी छु र अब? मै पनि बेचिएर, टुक्रिएर यत्रै त भइसकेको छु,’ आत्माले सानो चित्त बनायो।
नेपाल समय
ब्लग

मेस्सीले विश्वकप जित्दा खसेको आँसु

यो संस्मरण लेख्दै गर्दा छोरी ८ महिनाकी छिन् र उनी मस्त निदाइरहेकी छिन्। के उनले उनको देशले विश्वकप जितेको सपना देखिरहेकी छिन्?
नेपाल समय
ब्लग

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।
नेपाल समय
ब्लग

हिमालको काखबाट राष्ट्रिय खेलकुद नियाल्दा

प्रतियोगिताको दोस्रो दिन बिहान खासै इभेन्ट थिएनन्। ढिलो गरेर ११ बजे रंगशाला पुग्दा सबै साथीहरू त्यहीँ भेटिए। फेवातालको छालमा टल्किइरहेका घामका किरण, माछापुच्छ्रेलगायतका हिमालमा ठोक्किएका घाम किरण, सिरसिरे हावा, पोखरापारिका रमणीय गाउँ अनि नौला खेलाडी, व्यवस्थापक र दर्शक हेर्दै बिहान बितेको थियो।
नेपाल समय
ब्लग

अनि दसैं आउँथ्यो गाउँमा

घर लिपपोत गरेपछि पनि हाम्रो दसैंको चटारो सकिन्थेन। विद्यालय र घरको लिपपोतपछि बल्ल गाउँ सफाइ अभियान चल्थ्यो। मेरो गाउँ मगर समुदायको बाहुल्यता भएको क्षेत्रमा पर्छ। त्यसैले त्यहाँ सामूहिकता बलियो थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com

विज्ञापनको लागी

Charu shrestha 9841428229 Yubaraj Khatiwada 9801146990
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना